नेकपा एमालेले योगेश भट्टराईलाई ताप्लेजुङमा प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। शुक्रबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले ताप्लेजुङबाट टिकट पाएको पुष्टि गरे।
 
‘मैले ताप्लेजुङमा दोहोर्‍याउने भएँ,’ भट्टराईले भने।
 
ताप्लेजुङ भट्टराईको गृहजिल्ला समेत हो। उनले ताप्लेजुङबाटै २०७४ सालमा वाम गठबन्धनका तर्फबाट चुनाव जितेका थिए।
 
 
त्यस्तै अर्का एमाले नेता घनश्याम भुसालले भने टिकट पाउने वा नपाउने भन्ने कुनै टुंगो भइनसकेको उनीनिकट एक नेताले बताएका छन्।
 
‘घनश्याम भुषालबारे अझै टुंगो भइसकेको छैन,’ ती नेताले भने।
 
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पनि प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।
 
सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए।