काठमाडौं, १४ असार । काठमाण्डौमा जारको सहित धेरै ठाउँको पानी दूषित फेला परेको छ । योसँगै यहाँ हैजा झन फैलने जोखिम बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने बताएको छ ।
महाशाखाका निर्देशक दासले हैजाबाट बच्न नागरिक र सरोकारवाला निकाय सजग रहनुपर्ने आवश्यकता रहेको र अहिलेसम्म महाशाखाले परीक्षण गरेको तीन ठाउँको पानी प्रदूषित देखिएको जानकारी दिए । उनका अनुसार ललितपुरको सानेपा, काठमाण्डौको बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको हो ।
सानेपामा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको छ । बल्खु र कोटेश्वरको पनि नमुना लिइएको छ, रिपोर्ट आएको छैन । १० वटा नमुना केयूकेएलले लिएको छ तर ठाउँ यकिन छैन । बूढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुङ्गेधाराको पानी प्रदूषित पाएका छौँ । त्यहाँ १५ प्रतिशत जारको पानी प्रदूषित पाइएको छ’, उनले भने ।











