आर्थिक बर्ष ०७७/०७८ सम्म दाङको घोराही उपमहानगरले १७ वटा जलाशय निर्माण गर्यो । खेतीयोग्य जमिन सिँचित गर्ने उदेश्य अनुरुप नगर क्षेत्रका सीमसार क्षेत्रमा कृत्रिम जलाशय निर्माण गर्ने योजना उपमहानगरको थियो । १७ जलाशय निर्माणमा ७ करोड १ लाख रुपैयाँ खर्च भयो । तर करोडौँ खर्चेर बनाईएका यि जलाशय निर्माणमा आर्थिक अनियमितता भएको नगरपालिका कै कर्मचारीहरु बताउछन ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा जलाशय निर्माणका लागि गत उपमहानगरले २१ लाख रकम बिनियोजन गर्यो । यो रकम ड्याम निर्माणका लागि थियो । ड्याम निर्माणका लागि उपभोक्ता समिति बन्यो । पहिले देखिकै खोल्सालाई डोजरले थोरै खोतल्यो । अनि पोखरीको दक्षिण तर्फ ड्याम निर्माण गरियो । ड्याम निर्माणले पूर्णता पाएको भनेर उपमहानगरले रकम भुक्तान पनि गरिदियो ।

तर, ड्याम निर्माणका लागि खर्चेको २१ लख रकम स्वाहा जस्तै बनेको छ । मुल जाग्ने पानी तथा बर्षातको झरीको पानी संकलन गर्ने लक्ष राखेर बनाईएको यो जलाशय सुख्खा छ । २१ लाख रकम खर्चेको यो जलाशयमा पानी खोई ? निर्माण समितिका एक पदाधिकारीले भने ‘ड्याम पक्का खालको बनेन ।’ ड्याम कच्चो भएकै कारण पानी जलाशयमा मात्रै सञ्चय हुन पाउँदैन ।

‘ड्याममा प्रयोग गरिएको माटो बलियो खालको भएन, अनि रोलरले माटो राम्रोसंग नदाबेका कारण पनि पानीलाई माटोले रोक्न सकेन,’ उनले भने ‘हतारमा काम गर्नु परेका कारण पनि बाँध पक्को बन्न सकेन ।’ यहि कच्चो ड्याम निर्माणका लागि लागेको २१ लाख रकमको खर्चको शैली हेर्ने हो भने अँझ अचम्मको छ । ति पदाधिकारीका अनुसार ड्याम निर्माणका लागि एउटा डोजर र एउटा एक्सकाभेटर मात्रै प्रयोग भएका छन् ।

ति पदाधिकारीका अनुसार एक्सकाभेटर प्रतिघण्टाको ५ हजार ५ सय भाडा तिरेर प्रयोग गरिएको थियो । यो भाडा अहिलेको चल्तीको भाडा भन्दा २५ सय बढि हो ।
निर्माण व्यवसायिहरुका अनुसार त्यो बेला एक्सकाभेटरको भाडा प्रतिघण्टा तीन हजार थियो ।

‘प्रतिघण्टा ५ हजार ५ सय भाडा त अति महंगो हो,’ ति व्यवसायीले भने । यसैगरि यो ड्याम निर्माणका लागि प्रयोग भएको डोजरको भाडा पनि ७ सय रुपैयाँ बढि देखाईएको छ । जबकी डोजरको भाडा प्रतिघण्टा १ हजार ८ सय कायम थियो । तर ड्याम निर्माणका लागि डोजरको भाडा प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ देखाईएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ ढिकपुरमा रहेको पुरानो जलाशय मर्मतका लागि उपमहानगरपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गर्यो ।

यसमा जनसहभागीता लागत २ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ थप भयो । ४७ लाख बढि रकमको लागतमा निर्माण हुने भनिएको योजना थियो ‘ड्याम ।’ यो जलाशयको दक्षिण तर्फ पहले चार मिटर अग्लो ड्याम थियो । पछिल्लो पटक विनियोजन भएको ४७ लाख रकमले उक्त ड्याम झण्डै ५० मिटर टाढा सारियो ।

अनि ड्यामको उचाई ११ मिटर पुर्याईयो । खर्चको विवरण हेर्ने हो भने सोलोडोलो छ । उक्त ड्याममा लागेको खर्चको लेखा परिक्षण अनुसार जेसिभि खर्च ५ लाख ९८ हजार ६ सय ४७ रुपैयाँ देखाईएको छ । जेसिभिले कति घण्टा वा दिन काम गरेको भन्ने बारे उक्त प्रतिवेदनमा कतै देखाईएको छैन ।

यसैगरि एक्स्काभेटर खर्च १५ लाख ४० हजार रुपैयाँ देखाएको निर्माण समितिले अन्य विभिन्न शिर्षकमा पुरै रकम खर्च भएको मात्रै उल्लेख गरेको छ । यो ड्याम निर्माणका लागि माटो ढुवानी शिर्षकमा ३ लाख ४० हजार रुपैयाँ खर्च देखाईएको छ । यसैगरि माटो लोड तथा अनलोड शिर्षकमा २ लाख ९७ हजार ५ सय रुपैयाँ देखाईएको छ । जबकी माटो ढुवानीका लागि टिप्पर भाडा २ लाख २५ हजार छुट्टै उल्लेख गरिएको छ ।

यसैगरि माटो लोड तथा अनलोड गर्ने मजदुरहरुको ज्याला पनि १ लाख १६ हजार २ सय ५० रुपैयाँ छुट्टै खर्च देखाईएको छ । यो दुबै शिर्षकमा छुट्याईएको खर्च जोड्दा आउने कुल रकम ६ लाख ३७ हजार ५ सय रुपैयाँ माथि प्रश्न उठाउने ठाउँ प्रशस्तै छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया नजिकै एउटा ड्याम पहिले छँदै थियो ।

उपमहानगरपालिकाबाटै बनेको उक्त ड्यामका लागि उपमहानगरले १० लख बजेट विनियोजन गरेको थियो । उक्त ड्याममा पानी जम्मा भैरहेकैबेला उहि स्थानमा अर्को ड्याम निर्माण गर्ने योजना उपमहानगरले बनायो । अर्को नयाँ ड्याम निर्माण गर्नका लागि उपमहानगरले ६१ लाख रुपैयाँ थप खर्च गरेको छ ।

‘पहिला माथितिर एउटा ड्याम छँदै थियो, त्यसमा एकजना मान्छे डुबेर मरेपछि त्यो ड्यामलाई अलिकती भत्काईयो,’पछिल्लो पटक निर्माण भएको ड्यामका निर्माण समिति एक पदाधिकारीले भने ‘पछिल्लो पटक ड्याम बनाउने बेलामा ६१ लाख रकम विनियोजन भएको हो ।’

पछिल्लो पटक निर्माण भएको ड्यामको लागत पनि मेसिन प्रयोगमै अत्यधिक भाडामा खर्च भएको देखिन्छ । उनका अनुसार यो ड्याम निर्माणका लागि चल्तीको मूल्य भन्दा २ हजार बढि प्रतिघण्टा ५ हजार भाडाका दरले एउटा एक्सकाभेटर प्रयोग गरिएको छ । यसैगरि ६ सय २५ रुपैयाँ प्रतिघण्टाका दरले प्रयोग हुँदै आएको रोलरको भाडा पनि प्रतिघण्टा ५ हजार पुर्याईएको छ । यसैगरि टिप्परभाडा प्रतिघण्टा ५ हजार रुपैयाँ बढि जोडिएको छ ।

१२ हजार रुपैयाँ प्रतिदिनको हिसाबमा प्रयोग हुने टिप्परको भाडा यो ड्याम निर्माणका बेला १७ हजार देखाईएको छ ।
दुई बर्ष अघि घोराही उपमहानगरपालिका १८ गिठेपानीमा तुलसीपुर स्थित बृहत सिँचाई आयोजनाले जलाशय निर्माण गर्यो । ९६ लाख ४३ हजार बजेटमा निर्माण भएको सिँचाई आयोजनाको जलाशयको उदेश्य गिठेपानी, फुर्सेखालीको खेतियोग्य जमिन सिँचित गर्ने नै हो । झण्डै एक करोड सरकारी बजेटमा निर्माण भएको ड्यामसंगै सटाएर सरकारको लाखौँ बजेट खर्चेर अर्को ड्याम निर्माण गरियो । घोराही उपमहानगरपालिकाले बृहतसिँचाईकै ड्यामसंग सटाएर अर्को ड्यामको योजना पारिदियो ।