चितवन, १५ माघ । भरतपुर– ६ का कृष्णबहादुर भण्डारी कोरोनाको दोस्रो लहरमा थला परे । स्वास्थ्य जटिल बनेपछि २ जेठ ०७८ मा चितवन मेडिकल कलेज ९नयाँ मेडिकल कलेज० भर्ना भए । ३७ दिनको अस्पताल बसाइपछि ७ असारमा उनी डिस्चार्ज भए ।
अस्पतालले थमाएको बिलमा भनसुन गरेर एक लाख छुट गराई पाँच लाख ८२ हजार सात सय २० रुपैयाँ तिरेर डिस्चार्ज भएको भण्डारी बताउँछन् । जब कि अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने र उपचार लागेको खर्च सरकारले दिने गरी सरकार र चितवन मेडिकल कलेजबीच सम्झौता भइसकेको थियो । भण्डारीलाई यसबारे थाहा थिएन, त्यसैले अस्पतालले मागेपछि इष्टमित्रसँग ऋणधनसमेत गरेर उपचार खर्च बुझाएका थिए । उपचार शुल्क भुक्तानी गरेको प्रमाण उनीसँग सुरक्षित छ ।
भरतपुरका कृष्णबहादुर भण्डारीले ३७ दिन कोरोनाको उपचार गरेबापत चितवन मेडिकल कलेजलाई पाँच लाख ८२ हजार बुझाउनुपर्यो, तर अहिले अस्पतालले उनको निस्शुल्क उपचार गरेको भनेर सरकारसँग पाँच लाख सात हजार मागेको छ
०७८ को २ जेठमा भर्ना भएर ७ असारमा डिस्चार्ज भएको हुँ । अस्पतालले मागेअनुसार पाँच लाख ८२ हजार सात सय ८० रुपैयाँ तिरेको हो । के गर्नु त्यतिवेला पैसाभन्दा बाँच्नु ठूलो विषय थियो । आफूसँग सबै पैसा नभएपछि ऋणधनबाट समेत जुटाएर अस्पताललाई बुझाएको हो,’ उनले भने ।
तर, अस्पतालले भने भण्डारीको निःशुल्क उपचार गराएको भनेर सरकारसँग पनि पाँच लाख सात हजार रुपैयाँ मागेको छ । महामारीमा नौ सय ६६ संक्रमितको निःशुल्क उपचार गरेको दाबी गर्दै चितवन मेडिकल कलेजले १० करोड ९५ लाख ८० हजार रुपैयाँ शोधभर्नाका लागि निवेदन दिएको छ, जसमा कृष्ण भण्डारीको पनि नाम छ ।
अस्पतालले निःशुल्क उपचार गरेको दाबी गर्दै शोधभर्नाका लागि निवेदन दिएका व्यक्तिहरूको नाम जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नो वेबसाइटमा राखेको छ । उक्त सूचीमा आफ्नो नाम पनि देख्दा आश्चर्यमा परेका भण्डारीले सोधभर्ना अस्पतालाई नभई आफूलाई गर्न १२ माघमा जिल्ला प्रशासनमा निवेदन पनि दिएका छन् ।
‘मेरो निःशुल्क उपचार गरेको भनेर चितवन मेडिकल कलेजले सरकारसँग शोधभर्ना दाबी गरेको रहेछ । दुनियाँ मर्ने कि बाँच्ने अवस्थामा रहेको महामारीमा त त्यसरी लुट्ने अस्पतालले अरु वेला कति लुट्छ होला १’ उनले भने, ‘निःशुल्क उपचार सुविधा हो भने अब सरकारले अस्पताललाई होइन, मलाई सोधभर्ना गरोस् । यसबारे जिल्ला प्रशासनमा निवेदन पनि दिइसकेको छु ।’
भरतपुर– १० का प्रेम आचार्य कोरोना संक्रमित भएर चितवन मेडिकल कलेजमै चार दिन उपचार गर्दा लागेको एक लाख ऋणको ब्याज अहिले पनि सयकडा दुई रुपैयाँका दरले तिर्दै छन् । धरौटी राखेर मात्रै भर्ना लिएको र शुल्क चुक्ता गरेर मात्रै डिस्चार्ज गरेको अस्पतालले अहिले भने आचार्यको उपचार निःशुल्क गरेको दाबी गर्दै सरकारसँग ६० हजार रुपैयाँ मागेको छ । जब कि प्रेम भने उपचार गर्दाको ऋण तिर्न र परिवारको गुजारा चलाउन अहिले साउदी अरेबियामा पसिना बगाउन बाध्य भएका छन् । नयाँ पत्रिकाबाट











