कर्णाली, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत पुस ८ गते सम्पत्ति विवरण पेश गरेका मुख्यमन्त्री शाहीले पेश गरेको सम्पत्ति विवरण एक महिनापछि सोमबार मुख्यमन्त्री कार्यालयको वेबसाइटमा सबैले हेर्न मिल्ने गरी सार्वजनिक गरेका हुन् ।

पहिलो पटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको बैंक खातामै ७७ लाख रूपैयाँ रहेको छ । सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख छ।

पत्नी बसन्ती शाहीका नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख पैसा छ। यी रकम पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट कमाएको मुख्यमन्त्री शाहीले सम्पत्ति विवरणमा उल्लेख छ ।
२०५० सालदेखिको शाही र पत्नी बसन्तीका नाममा शुभचिन्तकसँग छ छ लाख रूपैयाँ बचत छ। आफूहरूसँग ५६ तोला सुन रहेको शाहीले बताएका छन्। साथै २ किलोग्राम चाँदी पनि छ। नवरत्न र औंठी गरी ३ लाख बराबरको सम्पति पनि छ।

मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन्। हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३ दशमलव ७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ।