काठमाडौँ, १५ मंसिर । दसौं राष्ट्रिय महाधिवेशनबाट भारी मतान्तरले एमाले अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीको आगामी यात्रा सहज हुने छैन । दोस्रोपटक पार्टीको बागडोर सम्हालेका ओली खासगरी आन्तरिक र बाह्य परिस्थितिका कारण अप्ठ्यारो अवस्थामा छन् ।

पार्टीभित्र नेतृत्व चयनका विषयमा भित्रभित्रै सल्किरहेको भुसको आगोजस्तै असन्तुष्टि छ भने बाह्य रूपमा विभाजन भएर गएको माधव नेपाल पक्षको प्रभाव छ । आन्तरिक कारणले पार्टी संगठनमा असर गर्नेछ भने बाह्य कारणले आगामी निर्वाचनमा प्रभाव देखिनेछ । ओलीले आफैं भन्दै आएको गठबन्धनको घेराबन्दी छ । महाधिवेशनले पारित गरेको प्रस्तावले भनेझैं पहिलो शक्ति हुने मुख्य चुनौती पनि ओलीसामु छ ।

एमालेकै नेताहरूका अनुसार चितवन महाधिवेशनबाट अध्यक्ष बनेका ओलीको पाँच वर्षका लागि चुनौतीपूर्ण यात्रा सुरु भएको छ । उनीहरू ओलीका सामुन्ने तत्कालीन र दीर्घकालीन महत्त्वका झन्डै आधा दर्जन चुनौती देख्छन् ।

नवनिर्वाचित एक पदाधिकारीका अनुसार अहिलेकै वर्चस्व बचाइराख्ने, असन्तुष्ट मतहरूलाई सम्बोधन गरेर लैजाने, आरोपहरूको चित्तबुझ्दो जवाफ दिने, अन्य दलसँगको सम्बन्ध सुधार गर्ने र चुनावमा ठूलो पार्टी बनाउने ओलीका मुख्य चुनौती हुन् कान्तिपुरमा खबर छ। ती नेताको बुझाइमा ओली विगतभन्दा जटिल यात्रामा छन् ।

ओलीले अबका पाँच वर्ष संक्रमणकालीन नेतृत्व लिनुपर्ने उनको बुझाइ छ । ‘उनी हरेक दिनको अस्ताउँदो घाम हुन्,’ ती नेताले भने, ‘नयाँ नेतृत्वको उदयका निम्ति अहिलेको केन्द्रीय कमिटीमा उनले संक्रमणकालीन भूमिका निर्वाह गर्नुपर्नेछ ।’