इन्द्रेणी संवाददाता
जाजरकोट, १२ मंसिर । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोटको राडिका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अरु २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृत्यु हुनेहरुको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिएका छन् । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको बताइएको छ । बसमा ३२ जना यात्रु सवार रहेको बताइएको छ ।











