इन्द्रेणी संवाददाता
चितवन, ११ मंसिर । हिजोदेखि चितवनमा शुरु भएको नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र शुरु भएको छ । आज विहान ८ बजेदेखि बन्दुसत्र शुरु हुने भनिएपनि ढिलोगरी शुरु भएको छ । बन्दसत्र दिउँसो साढे १ बजेबाट मात्रै शुरु भएको छ ।
बन्द सत्रमा विभिन्न देशबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, गएराति सौराहमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय अनुमोदन गर्नेछ । बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थप्ने निर्णय गरेको छ । त्यस्तै पदाधिकारी संख्या २२५ जनाबाट बढाएर ३०१ सदस्यीय केन्दीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।
नेतृत्वमा सहमति जुटाउन सकस
अबको अध्यक्षमा उपाध्यक्ष भिम रावलले दावी गरेपछि एमालेमा सहमतिमा नेतृत्व चयनमा सकस देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयनका लागि सबै नेताहरुसँग छलफल गरिरहेका छन् । तर, रावलले अध्यक्षमा आफ्नो दावी नछोडेपछि नेतृत्व चयनमा सहमति जुटाउन सकस भएको हो ।
अध्यक्ष ओली सकेसम्म सबै पदाधिकारी सहमतिमा टुंगो लगाउने मनसायमा छन् । सहमति नभए चुनाव गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । जसका लागि आज बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता दाबी विरोध र फिर्ताको समय रहेको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार २७५ प्रतिनिधि सहभागी छन् ।











