इन्द्रेणी संवाददाता
भालुवाङ, ९ मंसिर । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका छन् ।

माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको भालुवाङमा सम्बोधन गर्दै महराले अहिले देश भित्रकै प्रतिगामी र नेपालको हित नचाहाने अन्तिराष्ट्रिय सक्तिबाट राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका हुन् ।

अहिले रहेको पाँच दलीय गठबन्धन असंवैधानिक कदमका विरुद्धको गठबन्धन भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महराले विचारमा फरक फरक भएपनि मुलुकको राष्ट्रियतालाई जोगाउन सबै परिवर्तनकारी सक्ति एकैठाउँमा भएको बताए । ‘विचारमा फरक फरक छौं तर राष्ट्रियताको सवालमा सबै सक्ति एकैठाउँमा छौंं’, उनले भने । पछिल्लो चरणमा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीचको भेटघाटको प्रशंगमा महराले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउन क्रान्तिकारी सक्तिहरु एक हुने समेत बताए ।

हातहातमा मोवाइल, घरघरमा इन्टरनेट आफू्रनै सञ्चारमन्त्री भएको समयमा ल्याएको एजेण्डा भएको उल्लेख गर्दै महराले अहिले त्यसले धेरै सार्थकता पाएको बताए । उनले जनताले ल्याएको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्नका लागि पत्रकारहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लोकतन्त्रको इतिहासलाई जोगाउन युग परिवर्तनशील सञ्चार क्षेत्रको विकास आवश्यक भएको उल्लेख गर्दै त्यसको नेतृत्व प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’, प्रदेश सभा सदस्य दामा शर्मा, वरिष्ठ पत्रकार नारयाणप्रसाद शर्मालगायते सम्बोधन गरेका थिए । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । सम्मेलनमा प्रेस सेन्टरसँग आवद्ध लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रदेश प्रतिनिधि एवं परिवेक्षकहरुको सहभागिता थियो ।