प्यूठान, ४ मंसिर । अक्सिजन अभाव कम गर्न भन्दै प्यूठान जिल्ला अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्याप्त भोल्टेजको विद्युत् उपलब्ध नगराउँदा प्लान्टबाट अक्सिजन उत्पादन हुन नसकेको हो।
अस्पतालमा विद्युत् प्राधिकरणको ३३ केभीए लाइन जोडिएको छ । तर आवश्यकता अनुसार विद्युत् आपूर्ति नभएको अस्पतालका सूचना अधिकारी खिमप्रसाद पार्देले बताए । ‘प्लान्टका लागि ५० केभीएभन्दा धेरै भोल्टेज आवश्यक पर्छ,’ उनले भने, ‘तर अहिले ३३ केभीए मात्र आपूर्ति भएको छ ।’
अस्पतालमा ६२ दशमलव ५ केभीएको जेनेरेटर जडान गरिएको छ । सोही जेनेरेटरबाट आवश्यक अक्सिजन आपूर्ति गरिँदै आएको छ । अस्पतालको एक्स–रे मेशिन लगायत उपकरण जेनेरेटरबाटै सञ्चालन गर्नुपर्ने बाध्यता छ । सबै उपकरण यसैबाट सञ्चालन गर्दा प्लान्ट सञ्चालनमा समस्या भएको हो । केन्द्र सरकारको एक करोड रुपैयाँ सहयोगमा प्लान्ट जडान गरिएको प्लान्टबाट दैनिक ७०–७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ ।











