रोल्पा, १५ असोज । रोल्पाको परिवर्तन गाउँपालिकामा स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रमा ७ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । स्वास्थ्य प्रवर्द्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम (सीईएचपी), नेपालगञ्जको प्राविधिक तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा ३ वर्ष अघिदेखि गाउँपालिकामा सञ्चालित स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाले विभिन्न पूर्वाधार निर्माण तथा सामाजिक विकासमा उक्त लगानी गरेको हो ।

khanepaniपरियोजनाले सरसफाइ तथा स्वच्छतामा २ करोड ४३ लाख ३१ हजार, खानेपानी र स्वास्थ्य पूर्वाधार विकासमा ४ करोड ७८ लाख ७६ हजार लगानी गरेको छ । परियोजनाले गाउँपालिकालाई मातृ तथा शिशु मृत्युदर घटाउन, शुद्ध खानेपानीको उपलब्धता, शौचालयको प्रयोगबाट स्वच्छ गाउँ निर्माणका साथै दिगो विकासको लक्ष्यमा सहयोग पुगेको छ ।

गाउँपालिकासँगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले सो परियोजना मार्फत गाउँपालिकाभित्रका स्वास्थ्य चौकीको भवन र खानेपानी योजना निर्माण गरेको कार्यक्रम प्रमुख लक्ष्मण स्वर्णकारले बताए । २०१८ सेप्टेम्बरदेखि २०२१ सेप्टेम्बरसम्म सञ्चालित परियोजनाले परिवर्तन गाउँपालिकामा गरेको प्रगतिको बारेमा समीक्षा कार्यशाला समेत आयोजना गरिएको छ ।