इन्द्रेणी संवाददाता
काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

umlनेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । तीन दिनसम्म चल्ने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने छ । भेलामा करिब छ हजार नेता कार्यकर्ता सहभागी हुँदैछन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, जनसंगठनका केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, संघीय र प्रदेशका सांसद, एमाले पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमालेबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रवास कमिटीबाट पनि प्रतिनिधित्व गराइँदै छ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई र एक दलितलाई अनिवार्य गरिएको छ ।