इन्द्रेणी संवाददाता
काठमाडौं, २ भदौ । पचछिल्लो चरणमा कोरोना संक्रमण पुनः बढ्दै गएको छ । तर नागरिकहरुले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाँइ गरेको पाइएको छ । पछिल्ला दिनमा धेरैले मुखमा मास्क नै लगाउन छोडेका छन् ।
कोरोना विरुद्धको खोप लगाएकाले कोरोना संक्रमणको जोखिम कम भएको भ्रममा नागरिकहरुले मास्क खोल्न थालेका छन् । तर स्वास्थ्य सुरक्षा पालना गराउन प्रहरीले देशका विभिन्न ठाउँमा तपाईको मास्क खोइ अभियान नै चलाएको छ ।
अभियान अन्तर्गत प्रहरीले दैनिकजसो २१ हजार भन्दा बढी मास्क नागरिकलाई निःशुल्क वितरण गर्दै आएको छ । ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ५६ हजार ४ सय ७३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खोइ रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २० जनालाई ४५ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ हजार १ सय १९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ६६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २४ हजार २ सय ३४ जनालाई सचेत गराइएको छ ।











