काठमाडौँ, २२ साउन । सरकारमा सहभागिता कि पार्टी एकता भन्नेमा धारणा तय गर्न बसेको एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्मान गिराएर एकता गर्न नहुने मत बलियो भएको छ ।
बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा नेता नेपालले नै आत्मसम्मान गिराएर जान नसकिने धारणा राखेका हुन् । तर, उनले एकताको बाटोबाट आफू बाहिर नरहेको धारणा पनि राखेका छन् ।
एमालेको स्थापना आफूले गरेको भन्दै उनले पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गर्ने तर आत्मसम्मानकासाथ लाग्ने धारणा राखेका थिए । उनले अध्यक्ष ओलीले सरकारमा रहँदा र बाहिर निस्किएपछि चालेका कदम र दिएका अभिव्यक्तिले गर्दा नै एकताको वातावरण धमिलिँदै गएको पनि बताए ।
पार्टी स्थापनाका दिनहरू स्मरण गर्दै नेता नेपालले आफूहरूले रगत र पसिना बगाएको र त्यसको भविष्य सुनिश्चित गर्न पनि अधिकतम प्रयास गर्ने बताएका थिए । अध्यक्ष ओली पार्टी स्थापनाका क्रममा मुद्दा लागेर जेलमा रहेको र पछि मात्रै पार्टीमा जोडिएको भन्दै केन्द्रीय सदस्यहरूलाई उनले सम्मानजनक एकताका लागि प्रयास गर्नुपर्ने बताएका थिए । कान्तिपुरबाट











