सल्यान, २२ असार । व्यवशायमा सहयोग पुर्याउने उद्देश्य सहित सल्यानमा लघु उद्यमीहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले तरकारी खेती तथा बाख्रा पालन गरिरहेका लघु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको हो ।
गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सोमबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले ब्यवशायीक तरकारी खेती गरिरहेका २५ जना लघु उद्यमीहरुलाई खेतिका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरे । थोपा सिंचाइँ प्रविधि, स्प्रे टंकी, पञ्जा, मास्क, एप्रोन तथा बुट हस्तान्तरण गरिएको हो ।
प्रविधि हस्तान्तरण गर्दै अध्यक्ष सेनले गाउँपालिकाले दिएको सामग्रीलाई आफैले किनेको सोँचेर उपयोग गर्न आग्रह गरे । पालिकालाई समृद्धि तर्फ लैजान कृषि क्षेत्रको विकासमा सेनले जोड दिए । गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न र उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालिम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिरहेको अध्यक्ष सेनले बताए ।
यसबाट गाउँपालिका क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने र युवाले रोजगारीका लागि अन्यत्र भौँतारिँदै हिँड्नु नपर्ने उनले बताए ।
यस्तै कपुरकोट गाउँपालिकामा बाख्रापालन ब्यवशाय गरिरहेका ४२ जना उद्यमीलाई खोर निर्माणका लागि जस्ता पाता पनि प्रदान गरिएको छ । प्रतिउद्यमी १ बण्डलका दरले ४२ जनालाई जस्ता पाता प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जनाए । गाउँपालिकामा दर्ता भएका लघु उद्यमीहरुलाई सामग्री प्रदान गरिएको हो । गाउँपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरु वितरण गरिएको उनले जनाए ।











