सल्यान, १९ असार । सल्यानको कपुरकोटमा समूहमा आवद्ध भएका १० जना किसानको खोर सुधार गरिएको छ भने २५ जना किसानलाई उन्नत बाख्रा वितरण गरिएको हो । किसानको समेत साझेदारी रहने गरी खोर सुधार, उन्नत बाख्रा र औषधि वितरण गरिएको हो ।
कपुरकोट ३ मा रहेको जागृत मिश्रित बाख्रापालन समितिमा आवद्ध २५ जना किसानहरुलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले जमुनापारी जातका बोका वितरण गरेका थिए ।
यस्तै १० वटा बाख्राको खोर सुधार कार्यक्रम पनि सम्पन्न गरिएको कपुरकोट गाउँपालिकाको पशुपन्छी विकास ईकाइले जनाएको छ । परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नहुने र यसले बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने भएकाले खोर सुधार गरिएको पशुपन्छी विकास ईकाई प्रमुख अरुणा भण्डारीले जानकारी दिइन् । यस्तै १ लाख रुपैयाँ बराबरको औषधि पनि वितरण गरिएको उनको भनाइ छ ।
किसानको पनि ५० प्रतिशत लागत सहभागिता हुने गरी कपुरकोट गाउँपालिकाले जागृत मिश्रित बाख्रापालन समितिमा २० लाख रुपैयाँ बराबरको नश्ल सुधार, खोर सुधार र औषधि वितरण कार्यक्रम सञ्चालन गरेको हो । जमुनापारि जातको बोका खरिदका लागि १० लाख रुपैयाँ, खोर सुधारमा ८ लाख, औषधि खरिद, ढुवानी तथा प्रशासनीक तर्फ २ लाख रुपैयाँ लगानि गरिएको गाउँपालिकाले जनाएको छ ।
दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउनका लागि कृषि क्षेत्रमा उचित रकम विनियोजन गरी कृषकहरूको आम्दानी बढाउन आफुहरुले हरेक वर्ष किसानलाई अनुदानसंगै विभिन्न कार्यक्रम र योजनाहरु सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । विगतमा वास्तविक किसानभन्दा गैरकिसानले कागजी रूपमा अनुदान रकम निकासा गरेर दुरुपयोग गर्ने गरेको देखिएको भन्दै आफुहरु निर्वाचित भएर आइसकेपछी वास्तविक किसानले लाभ प्राप्त गर्ने खालका कार्यक्रम सञ्चालन गरिएको बताए ।











