इन्द्रेणी संवाददाता
लुम्बिनी प्रदेशको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ ।
विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।











