इन्देणी संवाददाता
काठमाडौं, २१ जेठ । जसपाका आठ मन्त्रीसहित जिम्मवारी हेरफेर गरिएका मन्त्रीहरुले शपथ लिएका छन् । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा महन्त ठाकुर पक्षका आठ मन्त्रीसहित मन्त्रीपरिषद पुर्नगठन गरेपछि नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।
पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्रीको जिम्मा दिइएको छ ।
त्यसैगरी बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन्।
यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद, चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्या देवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।











