रुकुम, १० जेठ । पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिकामा स्याउ उत्पादन बढ्ने भएको छ । गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ ।

कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयंसेवक र सम्बन्धित वडाका जनप्रतिनिधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा गत वर्षको भन्दा यस वर्ष ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको छ ।

गतवर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति नगरे यस वर्ष ८० देखि १०० टनसम्म उत्पादन हुने अनुमान गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिए ।

गाउँपालिकाका २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ । वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रूपमा विकास गरी काम गरिरहेको ओलीले बताए ।

अन्य वडामा पनि स्याउ पाइन्छ । स्याउ प्रशस्त मात्रामा पाइने गरेका भए पनि बजारीकरणको भने समस्या छ । सडक सुविधा नपुगेको त्यस ठाउँबाट घोडा, खच्चडमार्फत स्याउ ढुवानी गरिँदै आएको । कतिपयको स्याउ बारीमै कुहिने गरेको छ ।