रोल्पा, ८ जेठ ।रोल्पाका व्यापारीहरुले निषेधाज्ञाको मौका पारेर दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेका छन् । दाल, चामल लगायत दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य वृद्धि गरेको उपभोक्ताहरुको गुनासो छ ।
निषेधाज्ञा हुनुभन्दा पहिले केजीको १२० पर्ने सोयाबिनलाई अहिले २००, केजीको ९० पर्ने केराउलाई अहिले १२०, आधा लिटरको तोरीको तेलको पोकालाई १०० पर्ने लाई अहिले १२० मा विक्री गर्दै आएका छन् ।
बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरीदका लागि गएका एक उपभोक्ताले एक्कासी सबै सामानको मुल्य वृद्धि भएको सुन्दा अचम्ममा परे । ‘पटक पटक पसल जादा संक्रमणको डर हुने भएकाले सबै सामान एकै पटक खरीद गर्दा मूल्य वृद्धि भएको पाए’ ती उपभोक्ताले भने ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता डेरामा बस्ने मजदूरहरुलाई बाच्न गाह्रो छ ।’
निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन पनि नगर्ने र बजारमा मूल्यसूची पनि कतै नराखिएकाले व्यापारीहरुले मनोमानी मूल्य वृद्धि गरेका हुन् । यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हँुदा हुने खानेभन्दा पनि दैनिक जोहो गरेर खाने उपभोक्ताहरु ठूलो मर्कामा पर्दै आएका छन् ।
