दाङ, ३० बैशाख । तुलसीपुर उपमहानगरपालिकाले आफूले सञ्चालन गरेको आइसोलेसन सेन्दरका लागि १०० ओटा अक्सिजन सिलिन्डर खरिद गर्ने भएको छ ।
उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले आइसोलेसन सेन्टरका लागि १०० अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको हो । साथै बैठकले पीसीआर जाँचका लागि प्रयोगशाला स्थापना गर्ने पनि निर्णय गरेको छ ।
त्यसैगरी प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५ ५ ओटा अक्सिजन सिलिन्डर र २ २ ओटा अक्सिजन कन्स्ट्रेटरको व्यबस्थापन गर्ने, अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
त्यस्तै बैठकले आइसोलेसन हस्पिटल सञ्चालनको लागि १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत, स्वास्थ्य सामग्री र औषधीको ब्यबस्थापनलगायत यी सबै काम गर्न ५ करोडको कोभिड बिपत प्रतिकार्य कोष स्थापना गर्ने, संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोडको सहयोग गर्न अनुरोध गर्ने, एम्बुलेन्स र शवबहानको व्यबस्थापन गर्ने निर्णय गरेको छ ।











