सल्यान, २४ बैशाख । कर्णाली प्रदेश र लुम्बीनि प्रदेशको दक्षिण पूर्वी सिमानाका रुपमा रहेको सल्यानको कपुरकोटमा गएको बुधबार स्थापना गरिएको हेल्थ डेस्कमा ३१८ जनाको स्क्रिनिङ गरिएको छ । भारत लगायत देशका विभिन्न स्थानबाट आएका ५५ जना महिला र २६३ जना पुरुष गरी जम्मा ३१८ जनाको कोरोना भाइरससंग मिल्ने लक्षणहरु छ वा छैन भनी परीक्षण (स्क्रिनिङ) गरिएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरस दोश्रो लहर बढेपछी गाउँपालिकाले नाकामा हेल्थ डेस्क स्थापना गरेको थियो । कोरोना भाइरसबाट हुने जोखिमबाट बच्न तथा वाहिरबाट आउने व्यक्तिहरुमा श्वास–प्रश्वास, रुघाखोकी तथा ज्वरो लगायत समस्या देखिएमा त्यस्ता व्यक्तिलाई कोरोना परिक्षण गरि उपचार गर्न तथा गाउँमा संक्रमण फैलन नदिनका लागि हेल्थ डेस्क स्थापना गरिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।
शुक्रबार मात्रै बेलुकी ५ः३० बजे सम्म हेल्थ डेस्कमा १२९ जना पुरुष र १७ जना महिला गरी १४६ जनाको स्क्रिनिङ गरिएको छ । जसमा १० जना भारतबाट आएका ब्यक्तिहरु थिए । शारदा नपाका ६ जना, बागचौर नपाका २ जना, कपुरकोट गापाका १ जना र रोल्पाका १ जना भारतबाट फर्किएका ब्यक्तिहरु थिए । यस नाका भएर फर्कने सबैको स्वास्थ्य अवस्था सामान्य देखिएको हेल्थ डेस्कमा खटिएकी अहेव विमला गिरीले बताइन् ।











