जाजरकोट, १६ बैशाख । कोरोनाको जोखिम बढेपछि जाजरकोटमा वैशाख १८ गते शनिवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ ।
कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निष्कर्ष निकालेको हो ।
बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।











