इन्द्रेणी संवाददाता
दाङ १४ बैशाख । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै दाङमा यही बैशाख १७ गतेदेखि २५ गतेसम्मका लागि निषेधाज्ञा जारी हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललको अध्यक्षतामा आज घोराहीमा बसेको जिल्ला विपद् व्यवस्थापन समिति र सरोकारवालाहरुको सयुक्त वैठकले बैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाका समयमा खाद्यन्न पसल भने दैनिक विहान ७ बजेदेखि ८ बजेसम्म खुल्ने छन् । त्यसैगरी अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै यातायातका साधन बन्द रहनेछन् ।
त्यस्तै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बडको आइसोलेसन बनाउने निर्णय गरेको छ ।
यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०÷४० वेड क्षमताको आइसोलेसन र प्रत्येक पालिकाले २० वेड क्षमताको अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय भएको बताइएको छ ।
पुस्तक पसल १६ गतेबाटै बन्द
यसैबीच कोरोनाको जोखिम बढेको भन्दै दाङका स्टेशनरी पसलहरु भने बैशाख १६ गतेबाटै बन्द हुने भएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी समितिको आज बसेको बैठकले बैशाख १६ गतेबाट एक सातका लागि जिल्लाका पुस्तक तथा स्टेशनरी पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
बैठक पछि समितिका अध्यक्ष शंकर शर्मा र सचिव प्रेमप्रकाश डाँगीले विज्ञप्ति निकालेर समितिको निर्णय अनुसार आफ्नो व्यवसाय बन्द गर्न अपिल गरेका छन् ।











