इन्द्रेणी संवाददाता
दाङ, १३ बैशाख । सरकारले दाङको तुलसीपुरसहित देशका १२ ओटा स्थानलाई स्मार्ट सिटी बनाउने भएको छ । संघीय मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सरकारले बजेट सुनिश्चितता गर्दै देशका विभिन्न १२ ओटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको हो । दैलेखको दुल्लु, दाङको तुलसीपुर, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढी, स्याङ्जाको वालिङ र रुपन्देहीको लुम्बिनीलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको छ ।
त्यस्तै झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर एवं मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको भवन निर्माण विभागले जनाएको छ । वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयले बताएको छ ।
सरकारले प्रत्येक सहरका विकासका लागि ११ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय गरेरको छ । तर यसअघिको सरकारले विसं २०७४ असार २८ मा गरेका निर्णयमा विशेष महत्वसाथ स्मार्ट सिटी बनाउने केही सहरलाई यस पटकको निर्णयमा हटाएको छ ।











