काठमाडौं, २ चैत्र । नयाँ सत्ता गठबन्धनका लागि सोमबार कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० नेपालबीच पहिलोपटक त्रिपक्षीय छलफल हुँदै छ । दलगत रूपमा छुट्टाछुट्टै चरणबद्ध अनौपचारिक छलफल र संवादपछि सोमबार तीन दलको संयुक्त बैठक बस्न लागेको हो । अन्तरदलीय छलफलका क्रममा कांग्रेस, माओवादी केन्द्र र जसपासमेत प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नु अपरिहार्य रहेकोमा एकमत देखिएका थिए ।

sataपहिलो चरणका छलफल सकारात्मक भएकै कारण नेताहरूले सोमबारको तीन दलको संयुक्त बैठक निर्णायक हुन सक्ने संकेत गरेका छन् । ‘पहिलो चरणको छलफलमा तीनै दल ओलीको विकल्प खोज्ने विषयमा तयार भएको अवस्था छ, त्यसैले यो छलफल गठबन्धनका लागि निर्णायक हुन सक्छ,’ देउवानिकट एक नेताले भने ।

तीनदलीय छलफलको पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने वेला आएको बताएका छन् । ‘हाम्रो देश हिमाल, पहाड र मधेस मिलेर बनेको सुन्दर देश हो । यहाँ विविधतामा मिलेर बसेको समाज छ । म सबै दाजुभाइ, दिदीबहिनीहरूको एकता जो छ, यो कायम रहोस्, यसलाई कसैले खलल पार्न चाहे पनि त्यो नसकोस् ।

राष्ट्रिय एकता कायम रहोस् भन्न चाहन्छु, अहिले राष्ट्रिय एकतालाई मजबुत गर्दै राष्ट्रलाई मिलाएर लैजानुपर्ने अवस्था छ,’ देउवाले आइतबार बारामा खेलकुद विभागले स्व। खुमबहादुर खड्काको स्मृतिमा गरेको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै भनेका छन्, ‘अहिले जो राजनीतिक परिस्थिति विकास भइरहेको छ, एकदमै अन्योल छ । क्लियर स्थिति आइसकेको छैन । क्लियर स्थिति नआएसम्म कांग्रेसले बोलेर काम छैन । प्रधानमन्त्री पदका लागि कांग्रेस लोभी छैन, तर आइहाल्यो भने भाग्ने कुरा पनि छैन ।’

प्रधानमन्त्री ओलीको विकल्प खोज्न माओवादी केन्द्र र जसपासमेत तयार भएपछि देउवाले नै तीनदलीय बैठकको संयोजन गरेका छन् । बैठक सोमबार अपराह्न २ बजेपछि देउवानिवास बुढानीलकण्ठमा बस्दै छ । बैठकमा तीन दलका तर्फबाट प्रतिनिधिमूलक रूपमा शीर्ष नेताहरू सहभागी हुनेछन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बैठकमा सहभागी हुँदै छन् ।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुँदै छन् । तीन दलका बीचमा छुट्टा–छुट्टै छलफल भए पनि अहिलेसम्म गठबन्धन बन्ने कि नबन्ने र गठबन्धन गर्दा त्यसको नेतृत्व कसले गर्ने भन्ने विषय नै टुंगिएको छैन । जसपाभित्र आफ्नै नेतृत्वमा मात्रै सरकारमा जाने वा आफ्ना मागहरूको सम्बोधन हुने अवस्थामा अरूलाई पनि समर्थन गरेर जाने भन्ने विषयमा मत विभाजित छ ।

संसद्को पुनस्र्थापनापछि संसद्मा कांग्रेस निर्णायक भूमिकामा थियो । तर, त्यसवेला ओलीको विपक्षमा प्रस्ट उभिएर नेकपाकै अर्को समूहसँग मिलेर सरकार बनाउन कांग्रेस तयार भएन । अहिले ओलीको विकल्प खोज्न कांग्रेस तयार छ । र, कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाएर देशलाई निकास दिनुपर्ने विषयमा कांग्रेस एकमत छ । तर, अहिले कांग्रेस निर्णायक भूमिकामा छैन ।

यद्यपि संसद्को प्रमुख प्रतिपक्षीको हिसाबले कांग्रेस नयाँ गठबन्धनको नेतृत्वमा आफूले दाबी गर्नु स्वाभाविक ठानिरहेको छ । देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकार बन्ने अवस्थाका लागि परिस्थितिको पर्खाइमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ओलीको विकल्पका लागि लचिलो भएर प्रस्तुत भएका छन् । तर, नेकपा एकता भंग भएपछि निर्णायक भूमिकामा रहेको जसपाले निर्णय लिन ढिलाइ गर्दा गठबन्धन सरकार निर्माणको छलफल सुस्त छ । नयाँ पत्रिकाबाट