बैतडी, ५ फागुन । हत्या भएको १३ दिनपछि भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टेका किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको छ । बुधबार दिउँसो २ः ०० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर आरोपित भट्टलाई सार्वजनिक गरिएको हो ।

ddपत्रकार सम्मेलनमा सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तरमराज सुवेदीले घटनासँग तमाम सबुत र प्रमाणका आधारमा भागरथी भट्टको हत्या आरोपमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको बताए ।
“फरेन्सिक रिपोर्ट, युवाको फोनको लोकेशन र बयानका आधारामा पक्राउ गरेका हौं । जिल्ला अदालतमा म्याद थपरेर सरकारी वकिलको रोहबरमा विस्तृत अनुसन्धान अघि बढाईने छ”, उनले भने ।

घटनास्थलको प्रकृति बारे जानकारी दिदै सुवेदीले भागरथीको टाउँको चोट रहेको, घाँटीमा दबाए जस्तो डाम रहेको, खुट्टाको औलामा घाउँ रहेको र यौनीबाट रगत जस्तो पदार्थ बगेको अवस्थामा शव भेटिएको बताए ।

आरोपित दिनेश भट्ट अन्तिम विषय नपढी सनातन धार्म माविबाट ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई छोडेर एक्लै चडेपानी गाउँतर्फ गएको पाईएको खुलेको बताए ।

भागरथी भट्ट २ः बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलका बाटो ढुकेर भागरथीको हत्या गरेको खुल्न आएको छ ।
दिनेश टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लीलाधर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढ्ने सनातन धर्म माविबाट झण्डै ५–७ मिनेटको पैदल दुरीमा पर्छ । खोचलेक बजारमा तीनै जना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कति बेला जाने भनेर सोधिन् । भानदेव र लीलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।

भानदेव र लीलाधर कपाल काटन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चार–पाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पूरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान सुरु गरिएको थियो । ’दिनेशले विद्यालयबाट हिँडेको समय १ः४५ बजे हो । भागरथी र तीनै जनाको १ः५० मा खोचलेकमा भेट भयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २ः३० हो । तर दिनेश ३ः२५ सम्म घटनास्थल नजिकै छन् । ’उनले घरमा पूरै पिरियड पढेर आएको भने पनि पत्याउन नसकिने देखिन्छ’, प्रहरी स्रोत भन्छ, ’तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो ।’

प्रहरीले दिनेशलाई ३ः२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन् । ’प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ । दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केहीबेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यस दिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो । भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्’, एक प्रहरी अधिकृतले भने ।

भागरथीकी आमाले भागरथी आइन् र रु भनि सोध्दा दिनेशले नदेखेको बताएका थिए । भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैँ हुन्थे’, ती प्रहरी अधिकृतले भने । तर मङ्गलबारको बेलुकी उनले साबिति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढ घण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदी–भाइको नाता पर्छ । तर माघ २१ गते दिनेश दुई कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।’ उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।