बैतडी, १ फागुन । ‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ ।

bhagarathi bhatta‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको कमान्ड सम्हालिरहेका छन् । उनले अबको केही समयभित्रै अपराधी सार्वजनिक गर्ने तयारीमा प्रहरी लागेको बताए । तर, ठ्याक्कै समय तोक्न सकिने अवस्था भने नरहेको सुवेदीको भनाइ छ ।

भागरथीको बलात्कारपछि हत्या भएपछि घटनास्थलमा सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीको ठूलो टोली खटिएको छ । खोचलेक प्रहरी चौकीलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । यता जिल्ला सदरमुकाममा विद्यार्थीले शुक्रबार प्रशासनअगाडि थाली बजाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रशासनअगाडिको गढी बजारमा धर्ना बस्दै शुक्रबार थाली बजाएका हुन् ।

यता भागरथीको शव नौ दिनदेखि जिल्ला अस्पतालको शवगृहमा छ । उनका हत्यारालाई सार्वजनिक नगर्दासम्म आफन्तले शव नउठाउने अड्डी कसेका छन् । एकातिर जिल्ला हुँदै देशका विभिन्न ठाउँमा आन्दोलन चर्किँदै गएको छ भने अर्कातिर उनको शव नउठाउँदा प्रहरी दबाबमा परेको छ ।

प्रहरीले भने घटना भएदेखि कुनै कसर बाँकी नराखी अनुसन्धानमा खटिएकाले थप दबाब आवश्यक नभएको बताएको छ । ‘हामीले सुदूरपश्चिमभरिको पूरै जनशक्ति बैतडीमा केन्द्रित गरेका छौँ । प्रहरीले गर्ने काम रात–दिन नभनी गरिरहेको छ,’ डिआइजी सुवेदी भन्छन्, ‘प्रहरीले छिट्टै नै भागरथीका हत्यारा सार्वजनिक गर्नेछ । यो निर्मला प्रकरणजस्तो हुनेछैन ।’

घरभरी मान्छे छन्, तर एक्लै छिन् भागरथीका आमा

बैतडी, दोगडाकेदार– ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या भएको नौ दिन पुगेको छ । उनको घर पुग्दा आँगनमा शोकाकुल परिवार भेट्न आउनेहरूको भिड देखिन्थ्यो ।

भागरथीकी आमा द्रोपती र आफन्तहरूका आँखा भने आँसुले टिल्पिलाइरहेका थिए । आमा द्रोपती घरि उनैले हुर्काएका गाईवस्तुतिर हेर्थिन् । घरि दाउराका खाततर्फ हेर्थिन् । एकछिन टोलाउँथिन् । अनि आँगनमा आएकाहरूका अनुहार एक–एक गरी नियालेजस्तो गर्थिन् । त्यसपछि सेतो पछ्यौरीले आँखा पुछ्दै भक्कानिन्थिन् । द्रोपतीको दैनिकी यसरी नै चलिरहेको छ ।

परिवारलाई भेट्न शुक्रबार कञ्चनपुरबाट केही महिला अधिकारकर्मी आएका थिए । त्यस्तै केही मिडियाकर्मी र बैतडीका प्रदेश सांसद लीलाधर भट्ट पनि भागरथीको आँगनमा देखिन्थे । उनीहरू सबैले भागरथीको शोकाकुल परिवारलाई सान्त्वना दिँदै थिए । आमा द्रोपतीको मन भने शून्य थियो । चाउरिएको अनुहार फुङ्ग उडेको थियो । महिना दिनअघि श्रीमान् बितेपछि सेतो पहिरनमा छिन् उनी । सेतो पछ्यौराले आँसु पुछ्दापुछ्दा उनका आँखा सुन्निएका थिए । वरपर गाउँभरिका महिला जम्मा भएका थिए । उनीहरूका आँखा पनि ओभाना थिएनन् । प्रायः सबैजना सुँकसुँकाइरहेका थिए । नयाँ पत्रिकाबाट