तिर्थराज ज्ञवाली
देउखुरी, २९ माघ । राप्ती गाउँपालिकामा परिवारका जेष्ठ नागरिक सदस्यको उचित स्हार सुसार गरेका परिवारलाई सम्मान गरिएको छ ।
राप्ती गाउँपालिकाका ९ वटै वडाका ६७ जनालाई परिवारका जेष्ठ सदस्यको सम्मानपुर्ण ब्यवहारका साथ संरक्षण सहित पालन पोषण गर्दै आएकोमा सम्मान गरिएको हो ।
राप्ती गाउँपालिकाको कार्यालयको आर्थिक बर्ष २०७७÷२०७८को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लालन पालनमा खटिने छोरा बुहारीहरुलाई प्रमाणपत्र सहित सल ओढाएर सम्मान गरिएको छ ।
वडा गत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छर छिमेकीको सिफारीस अनुसार छनौटमा परेका छोरा बुहारीहरुलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिक आमा बुबा, सासु, ससुरा वा अन्य जेष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरु को भूमिका कम नहोस भनेर छोरा बुहारीहरुलाई सम्मान गरिएको सम्मान वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।
विगतका वर्षदेखी राप्ती गाउँपालिकामा सुरु गरिएको जेष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण तथा परिवारका जेष्ठ नागरिक सदस्यको उचित स्हार सुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिईदै आइएको छ ।
सम्मानित हुनेहरुमा वडा नं १ वाट केसर बहादुर कुमाल, लाली कुमाल, शान्ती जिसी, हिरामणी शर्मा, अन्जु शर्मा, निराजन शर्मा, गीता ज्ञवाली र वडा नं २ वाट लाल बहादुर रोका, माया बुढा, गोबिन्द चौधरी, जागेश्वरी चौधरी, खिमु भट्टराई, अनिता जि.सी रहेको राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीबनकुमारी जि।सीले जानकारी दिए ।











