काठमाडौं, २ पुस । पुस महिनाका सुरुवातीसँगै चिसो ह्वात्तै बढेको छ । उच्च हिमाली जिल्लामा तापक्रम माइनसमा झरिसकेको छ । भने तराईका जिल्लाहरुमा  हुस्सुले ढपक्कै ढाक्न शुरु गरिसकेको छ ।

cold_221211जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको छ । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।

अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।