काठमाडौं, २४ मंसिर । २०७५ पुस २७ गते विभाज भएको विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । अनलाइन कार्यक्रममार्फत आज विवेकशील र साझा पार्टी एक भएका हुन् ।
साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरू मात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणा पत्रमा हस्ताक्षर भएको छ । यसअघि यी दुई पार्टीबीच २०७४ साउन ११ गते पनि एकता भएको थियो ।
एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने र लोगो र चुनाव चिह्न ‘तराजु’ हुनेछ । एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५ /६५ जना सदस्य रहने गरी कुल एक सय ३० जना केन्द्रीय सदस्य हुने छन् । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या १३/१३ जनामा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ ।











