दाङ, १७ मंसिर । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजना सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य चौधरीले शिक्षा र सडकलाई केन्द्रित गरेर योजना तय गरिएको र त्यहि अनुसार बजेट विनियोजन गरिएको बताए ।
गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनालाई निरन्तरता दिदै, यस वर्ष नयाँ योजनामा पनि सडकलाई महत्व दिइएको उनले बताए । आर्थिक वर्ष ०७७/७८ को पूर्वाधारअन्तर्गतको ४ करोड रूपैयाँका योजना छनोट गरिएको हो । चौधरीले पत्रकार सम्मेलन गरेर योजना सार्वजनिक गरेका हुन् ।
लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैयाँ हुँदै घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारपानी मन्दिरसम्मको नयाँ ट्रयाक खोल्नको लागि ५० लाख, दाङ देउखुरीकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जखेरातालमा आधुनिक ढुङ्गा खरिद गर्नको लागि १० लाख रूपैयाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा अधुरो भवन निर्माणको लागि देउखुरी बहुमुखी क्याम्पसमा २० लाख, गढवा बहुमुखी क्याम्पसको लागि १५ लाख, लमहीको नेत्रज्योती संघको भवन निर्माणको लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ७ भैसाही नाकामा रहेको गौरीशंकर माविको भवन निर्माणको लागि १० लाख विनियोजन गरिएको छ । राप्ती गाउँपालिकाको राष्ट्रिय मावि भालुवाङमा १५ लाख विनियोजन गर्दा लमहीको विपी स्मृति भवन निर्माणमा १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै उक्त कार्यक्रमबाट घोराही उपमहानगरपालिका भैसकुर पिल चौतारादेखि अमृत सोता हुँदै दामोदर सडकको लागि १० लाख विनियोजन गरिएको चौधरीले बताए ।
यस्तै लमही नगरपालिका वडा नम्बर ९ मावि अमेलियाको भौतिक निर्माणको लागि १० लाख, मावि पचैयाको भौतिक निर्माणमा १० लाख, ज्ञानज्योती प्रावि मानपुर गढवाको लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
बेला कुलो सिंचाई योजना २५ लाख, घोराही कालिमाटी सिंचाई आयोजनाको लागि १० लाख, गढवा दङ्गाली छाप कुलो सिंचाई योजनाको लागि १० लाख, गढवाकै चिसापानी कुलो बाँध निर्माणको लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै हत्तेवा सिंचाई योजना १० लाख, सहकारीतर्फ धान खोला कृषि सहकारी संस्था १० लाख, लमही नगरपालिकाको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था १० लाख, राप्ती गाउँपालिका सिसहनियास्थित भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था १० लाख, सौगात थारू महिला भवन निर्माण बडका सिसहनिया १० लाख बजेट विनियोजित गरिएको छ ।
यस्तै राजपुरमा पुष्पलाल स्मृति भवनको लागि २५ लाख राप्ती गाउँपालिका इन्द्रेणी युवा क्लव पाँच लाख, लमहीमा निवृत्त राष्ट्र समाज लमही १० लाख, लमहीको देउखुरी प्रार्थना मण्डली खैरी पाँच लाख, लमहीको नरूल इस्लामको लागि १५ लाख, स्वास्थ्य चौकी लमही सतवरियाको लागि १० लाख विनियोजन गरिएको छ ।
पत्रकार सम्मेलनमा सांसद चौधरीले अहिले पूरा गर्न नसकिएका योजनालाई तराई–मधेश समृद्धि कार्यक्रमबाट सम्बोधन गरिने जानकारीसमेत गराएका थिए । यो चालु आर्थिक वर्षमा योजना सार्वजनिक गर्ने चौधरी पहिलो प्रतिनिधिसभा सदस्य हुन् आजको प्रदेश टुडेमा खबर छ। क्षेत्र नम्बर २ र ३ ले अझै योजना सार्वजनिक गरेका छैनन् । क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा र ३ का हिराचन्द्र केसी हुन् ।











