काठमाडौं, २२ असोज । सरकारले अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट यो समिति गठन भएको हो । डा. केसी गएको २४ दिनदेखि जुम्लाबाट सुरु गरी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् ।
मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भइ आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि यो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया सुरु भइसकेको जनाएका थिए । रासस











