काठमाडौं, १९ असोज। चीन-नेपाल तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । कोरोनका कारण लामो समयदेखि ठप्प रहेको सो नाका सञ्चालनमा आएपछि चीनबाट नेपाल सामान आउन थालेको छ ।
गत मंगलवार दुई देशका अधिकारीबीच जुटेको सहमतिअनुसार चिनियाँ पक्षले आइतवार ६ कन्टेनर समान पठाएको छ भने १२ ओटा मालवाहक गाडी समान लोड गर्न नाकातर्फ लागेका छन् ।
नेपालतर्फका मजदूर तथा चालकले ती सामान लोड गरेर ल्याउन तयारी अवस्थामा राखिएको छ । त्यसका लागि नेपालका तर्फबाट मालवाहक सामान ल्याउन चालक, सहचालक र मजदूर गरी दुई समूह बनाइएको छ, एउटा समूहमा २५ जना र अर्को समूहमा २८ जना सामान लोडका लागि नाकामा पठाउन लागिएको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार तिब्बतको खासादेखि बीच बाटोमा अड्किएका करीब ८ सय कन्टेनर पहिलो चरणमा नै छुट्न थालेका छन् । कार्यालय प्रमुख लालबहादुर खत्रीले दिएको जानकारीअनुसार अहिले दैनिक १५ ओटाभन्दा बढी कन्टेनरमा सामान आउने र त्यसबापत सरदर १ करोड बराबरको राजस्व संकलन हुने अपेक्षा छ ।
सोमवार चिनियाँ पक्षले कम्तीमा १५ ओटा कन्टेनरमा सामान पठाउने खत्रीले बताए । ती कन्टेनरमा तयारी पोशाक लत्ताकपडा, इलेक्ट्रोनिक सामान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान, खेलौनाहरू आउनेछन् । बिग्रने सामानलाई छिटो नेपालतर्फ ल्याइने खत्रीको भनाइ छ । दशैं नजिकिएकाले कुनै सामानको अभाव हुन नदिन पनि नाकाबाट सामान जाँचपासलाई तीव्रता दिइने भन्सार कार्यालयले जनाएको छ ।











