रुकुम, १५ असोज । कोरोना महामारीका कारण विद्यालयहरू बन्द भएको झण्डै छ महीना बितिसक्दा पनि अझै खुल्ने अवस्था नआएपछि टोल शिक्षा सञ्चालन गर्न शुरु गरिएको छ ।गत चैतको दोस्रो सातादेखि बन्द भएका विद्यालय खुल्न नसकेपपछि केहि स्थानीय तहको प्रयासमा टोल कक्षा सञ्चालन गर्न थालिएको हो ।
यदि अवस्था सामान्य हुन्थ्यो भने यतिबेला विद्यालयहरूमा धमाधम पढाइ भइरहेको हुन्थ्यो । कतिपय विद्यालयहरूमा पहिलो त्रैमासिक परीक्षा समेत सम्पन्न भएको हुन्थ्यो । तर अवस्था सामान्य नभएपछि गत शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षा समेत नहुँदा बालवालिकाको भविष्य नै अन्योल वनिरहेको छ । कतिपय कक्षाको स्वमूल्यांकन विधि मार्फत कक्षा वृद्धिसमेत गरिएको छ ।
सरकारले सिकाई सहजीकरण गर्न भन्दै प्रविधियुक्त शिक्षा र सामाजिक दुरी कायम गरी पठनपाठन गर्न निर्देशन गरेको छ । तर यसको कार्यन्वयनतर्फ रुकुमका धेरै विद्यालयले अझै पहल गरेका छैनन् भने स्थानीय सरकार पनि मौन रहेका छन् ।
इन्टरनेटको माध्यमबाट शहर बजारका बालवालिकाहरूको ९भर्चुअल० डिजिटल माध्यमबाट पठन–पाठन सञ्चालन भएपनि यहाँका दुर्गम गाँउका बालवालिका शिक्षाबाट बञ्चित रहेका छन् । दुर्गम गाँउका केही शिक्षक शिक्षीकाहरू भने यतिखेर विद्यार्थीहरूको भविष्यप्रति चिन्तित बन्दै टोल–टोलमा पुगेर विद्यार्थी–अभिभावकलाई शिक्षा दिन शुरु गरेका छन् ।
स्थानीय त्रिवेणी गाउँपालिका वडा नं।–६ स्थित जनचेतना आधारभूत विद्यालय व्यवस्थापन समितिको पहलमा विद्यार्थीहरूको पढाई सुचारु गर्न टोल–टोलमा पुगेर विद्यार्थी अभिभावकलाई शिक्षा प्रदान गर्न शुरु गरेको शिक्षिका निर्मला ओलीले जानकारी दिएकी छिन् ।
उनले भनिन, ‘कोभिड–१९ का कारण लामो समयसम्म विद्यार्थीको पढाई अवरुद्ध भएपछि पढाई नबिग्रीयोस् भन्ने उद्देश्यले अभिभावक र विद्यार्थीका लागि टोलशिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।’
विद्यार्थी विद्यालयमा नियमित आउन नसक्ने अवस्थामा अभिभावकलाई आफ्ना वालवालिकाहरूलाई कसरी सिकाइमा ध्यान दिन सकिन्छ भनेर अभिभावकहरूलाई शिक्षा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जानी दर्लामीले बताइन् अभियानमा खबर छ।
उनका अनुसार अभिभावकहरूलाई बालवालिकाको सिकाई सुधारका लागि शुरु गरिएको अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ । स्थानीय मिना वली भन्छिन्, ‘पहिले बालबालिकाहरू खेल्ने मात्रै गर्थे, अहिले अभिभावकलाई समेत तालिम तथा सिकाई व्यवस्थापन कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरूले पढाईमा ध्यान दिन थालेका छन् ।’











