इन्द्रेणी संवाददाता
काठमाडौं, १३ असोज । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशीलाई भिसा दिने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा र पर्वतारोहण गर्न नेपाल आउने विदेशीले भिसा पाउने निर्णय गरेको हो । तर यसका लागि विभिन्न सर्तहरु पालना गर्नुपर्ने छ । जसअनुसार नेपाल आउनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।
यस्तै कम्तीमा सात दिन क्वरेण्टीनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको हुनुपर्ने छ । क्वरेण्टीनमा बसेको पाँचौ दिन आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने छ । रिपोर्ट पोजेटिभ आएमा नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमै बस्नुपर्नेछ ।
त्यसैगरी आरोहण गर्न आउने विदेशीले पाँच हजार डलर बराबरको र नेपाली सहयोगीको एक लाख रुपैयाँको कोरोना बीमा गरेको हुनुपर्नेछ । स्वास्थ्य मन्त्रालयले तोकेका सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।











