काठमाडौं, २४ भदौ । कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तकोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन् । लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

Ban1मुलुकमा ९ लाख २३ हजार ३ सय ५६ उद्योग प्रतिष्ठानहरू रहेको तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणनाले देखाएको छ । त्यसमध्ये घरेलु तथा साना उद्यम व्यवसाय ९ लाख १९ हजार ३ सय ११ रहेकोमा त्यसको २० प्रतिशत अर्थात् १ लाख ८४ हजार व्यवसाय स्थायी रूपमा बन्द भएको आकलन छ ।

कोरोना जोखिमका कारण भएको निरन्तरको लकडाउन र त्यसबाट सिर्जित विषम परिस्थितिले घरेलुु, साना तथा मझौला उद्यम–व्यवसाय पलायन नै हुने अवस्थामा पुुगेको घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताए । ‘देशभर महासंघका सदस्य ४ लाख १८ हजार छन्, तीमध्ये २० प्रतिशत कोरोनाकै कारण पलायन भएको अनुमान छ, समग्रतामा पनि यही अनुपातमा व्यवसायी विस्थापित भएको हुनुपर्छ,’ कटुवालले बताए ।

लघु, घरेलु तथा साना उद्योग–व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको महासंघका उपाध्यक्ष कटुवाल बताउँछन् । आफ्ना पसलमा भएको सामग्री बिक्री गर्दासमेत भाडा तिर्न नपुग्ने अवस्था आएपछि धेरै व्यवसायीहरू सटर नै बन्द गरेर हिँड्न थालेको उनले बताए । ‘व्यवसायीहरूले दुःख–सुख लकडाउन धानेका थिए, तर अब निषेधाज्ञा धान्न नसकिने अवस्थामा पुुगेका छन्,’ नेपाल ग्रिल व्यवसायी महासंघका अध्यक्षसमेत रहेका कटुवालले भने, ‘व्यवसाय पुनरुत्थान गर्ने कुरा त परको हो, अहिले त व्यवसायीहरूलाई हातमुख जोर्नै पो गाह्रो भएको छ ।’

सुुरक्षाको विधि अपनाएर क्रमशः उद्योग–व्यवसाय खोल्दै जानुको विकल्प नरहेको उनी बताउँछन् । स्थानीय तहले लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसम्म लैजाने र सुरक्षा मापदण्ड अपनाएर सटर खोल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल भने ४० प्रतिशत व्यवसायी पलायन नै हुने अवस्थामा पुुगेका छन् । ‘अहिले काठमाडौंलगायत मुख्य सहरका व्यवसाय बन्द भएको कारण धेरै सटर भाडामा उपलब्ध छन्,’ उनले भने, ‘करिब ६ महिनादेखि सटर बन्द गरेर बस्नुपरेको छ, एकातर्फ आम्दानी छैन भने अर्कातर्फ बैंकको साँवा–ब्याज, घरभाडा, घरखर्चलगायत दायित्व बढेको बढ्यै छ ।’ लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा उद्यमी–व्यवसायी मानसिक तनावमा गइसकेको उनी बताउँछन् ।

लकडाउन अझै लम्बिँदै जाने हो भने साना तथा मझौला उद्यम–व्यवसाय पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगिसकेको उनको भनाइ छ । ‘हामी अन्तिम–अन्तिम अवस्थामा पुगिसकेका छौँ, घरेलु तथा साना र मझौला उद्योग–व्यवसायका लागि योभन्दा चरम कठिन अवस्था आउन सक्दैन,’ उनले भने, ‘त्यसैले अविलम्ब अन्य विकल्प प्रयोग गरेर लकडाउन खोल्दै अर्थतन्त्र खुलाउनुपर्छ अनि प्रभावित उद्योग–व्यवसाय पुनरुत्थानका योजनाहरू ल्याउनुपर्छ ।’

यसअघि मौद्रिक नीतिले ल्याएको पुनरुत्थानका योजना तथा सुविधाले अब काम नगर्ने उनले बताए । सरकारले बैंक तथा सहकारीमा रहेको ब्याज नै भुक्तानी गरिदिनुुपर्ने तथा व्यावसायिक भाडासमेत तिरिदिनुपर्ने महासंघको माग छ । त्यस्तै, विनाधितो कर्जा दिनुपर्नेसमेत उनीहरूको माग छ । नयाँ पत्रिकाबाट