इन्द्रेणी संवाददाता
सल्यान, २२ भदौ । सल्यानमा मास्क नलगाउदा एक हजार ६९० जना कारवाहीमा परेका छन् ।
जिल्लाको विभिन्न स्थानमा मास्क नलगाएकालाई कारवाही गर्दा १ लाख ६९ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्लामा कोरोनाको जोखिम न्यूनिकरण गर्न गएको असार २७ गतेदेखि प्रहरीले मास्क नलाइ हिडडुल गर्नेलाई जरिवाना गर्न सुरु गरेको थियो ।
मास्क नलगाउनेलाई प्रहरीले संक्रामक रोग ऐन २०२० बमोजिम एक सय रुपैँया जरिवाना गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ ।
कपुरकोटमा सबैको रिपोर्ट नेगेटिभ
त्यसैगरी कपुरकोट गाउँपालिकामा समुदायमै कोरोना संक्रमण फैलिएको आशंकामा जनस्तरबाट लिइएको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन । उक्त गाउँपालिकाको जनस्तरबाट लिइएको ११५ ओटा नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
नमूना परीक्षणका लागि गाउँपालिकाले नेपालगञ्जको भेरी अस्पतालको प्रयोशालामा पठाएको थियो । नमूना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपनि सिल गरिएको कपुरकोट बजार क्षेत्रलाई खोल्ने वा सिल यथापत राख्ने भन्नेबारे सोमवार गाउँपालिकाको बैठक बस्दैछ । बैठकबाट के गर्ने भन्ने बारेमा निर्णय हुने गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिए । कपुरकोट बजोर क्षेत्र भदौ १८ गतेबाट सिल गरिएको थियो ।











