महोत्तरी, २१ भदौ । कोभिड १९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश २ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ ।
भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश(२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवासले जनाएको हो ।
सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ९बिओपी० थपिन लागेको हो । प्रदेश(२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ ।
प्रदेशका आठ जिल्लाका सीमा क्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश(२ प्रमुख (बाहिनीपति) तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले स्पष्ट पारे ।
यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बिओपी स्थापना गरिने छ । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीन हजार ५०० जनशक्ति परिचालित छन् ।
अहिले कोभिड(१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बिओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ ।
कोभिड(१९ सङ्क्रमण सुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश(२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ ९एफओबी० समेत स्थापना गरेको छ । अवैधरुपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वरेण्टीन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।
कोभिड १९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वरेण्टीन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका पालिकाका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर ‘सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्’ भन्ने सन्देश प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।
सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७/०७८ सुरु भएयताका साउनदेखि अहिलेसम्मको अवधिमा अवैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छ करोड मूल्यका समान बरामद गरी सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ । यसैगरी आपराधिक क्रियाकलापमा भेटिएका २४ जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि सम्बन्धित नेपाल प्रहरीका कार्यालयमा बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।
यस अवधिमै स्रोत नखुलेको २७ लाख ९५ हजार ७३० रुपैयाँ नगद र वनक्षेत्रमा हुने अवैध चोरी कटानका नौ लाख मूल्यका काठ बरामद गरी सम्बन्धित वन कार्यालयलाई बुझाइएको बाहिनी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलले थप पोष्ट र जनशक्ति बढाएसँगै सीमाक्षेत्रबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सुधार हुने सीमाक्षेत्रका सर्वसाधारणले आश सङगालेका छन् । रासस











