काठमाडौं, ४ भदौ। नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल यही भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएको भन्दै विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना सङ्क्रमणको त्रास र श्रमजीवी पत्रकारको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भाद्र मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्नेसमेत निर्णय गरेको छ ।
बाग्मती प्रदेशको राजधानी हेटौँडामा तय भएको महासङ्घको राष्ट्रिय भेला कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएको सन्दर्भमा प्रविधि ९जुम वेविनार० का माध्यमबाट भेलाले केन्द्रीय समितिका तर्फबाट अध्यक्ष गोविन्द आचार्यद्वारा प्रस्तावित विभिन्न प्रस्ताव छलफलपछि परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरिएको हो ।











