इन्द्रेणी संवाददाता
दाङ, १९ साउन । नक्कली प्रहरी बनेर होटल सञ्चालकहरुलाई अभद्र व्यावहार गर्ने दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही ९ दक्षिण कर्मटुवा वस्ने ३० वर्षका सुरज नेपाली र सल्यान दार्मा गाउँपालिका ४ भल्चौर बस्ने ३० वर्षका गोपाल मल्ल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपालीले घोराही १५ ट्राफिक चोकमा रहेको लसम्विनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई आफू जिल्ला प्रहरी कार्यालय दाङको सई योगेन्द्र महाल हुँ भन्दै मासिक रकम दिनुपर्ने भन्दै धम्क्याउने गरेको खुल्न आएको छ ।
त्यसैगरी मल्लले भने घोराही १५ ट्राफिक चोककै पाहुन गेष्ट हाउसमा गई फ्रिमा खाने गरेको र होटल सञ्चालकलाई धम्क्याउने गरेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न समयमा होटल सञ्चालकहरुमाथि धम्क्याउने र अवद्र व्यावहार गरेको जानकारीमा आएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलई कानुनअनुसार कारवाही अघि बढाइएको पनि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।











