इन्द्रेणी संवाददाता
वीरगञ्ज, १६ साउन । पछिल्लो समयमा सामुदायमा कोरोना संक्रमण फैलदै गएको जनस्वस्थ्यकर्मीहरुले आँकलन गरेका छन् । कतै ट्राभल हिस्टी नभएकामा कोरोना देखिन थालेपछि कोरोना सामुदायमा फैलिएको आशंका गरिएको हो ।
यसैक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँ गएको उनको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । उनको अहिले काठमाडौँमा उपचार जारी रहेको बताइएको छ ।
बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक
गृहमन्त्रालयले आजैदेखि लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरूको स्वाब परीक्षण गर्दा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण पाइएकाले रोक लगाइएको जनाएको छ । यो निर्णय विहीबार साँझबाट नै लागु भएको बताइएको छ ।
निजी अस्पतालको उपचार शुल्क निर्धारण
सरकारले निजी अस्पतालले कोरोनाको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो ।
सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । जसअनुसार अस्पतालको सहमतिमा तह एक, दुई र तीन श्रेणीको अस्पताल तोकेर सङ्क्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन तीन हजार पाँच सय, मध्यम खालको अवस्थामा सात हजार र जटिल अवस्था भए १५ हजारसम्म रुपियाँ लिन पाउने गरी शुल्क तोकिएको छ ।
त्यसैगरी कोरोना उपचारका लागि सूचीकृत नभएका तर शङ्कास्पद बिरामीको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने छ।











