इन्द्रेणी संवाददाता 

कन्टेनर भ्यानबाट लुकेर नेपाल छिरेका  ५० जना भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  पक्राउ गरेको छ । कन्टेनर भ्यानमा सिन्धुपाल्चोकको बाटो  बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

तिमल्सिनाका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो। ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए ।