काठमाडौं, ३० वैशाख । अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ । यसअघि जारी भएका सबै पासहरु रद्द गर्दै गह मन्त्रालयले अब एक जिल्लाबाट अर्काे जिल्लामा जानमा रोक लगाएको हो ।
कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । देशमा कोरोना संक्रमितको संख्या बढेसँगै बिहीबारबाट लागू हुने गरी सो निर्णय भएको हो ।
राजधानीको हकमा यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ भने सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ ।











