दाङ । कोरोना भाइरस ९कोभिड–१९० को त्राससँगै बजारमा मास्कको अभाव भएपछि दाङमा महिला उद्यामीहरुले मास्क उत्पादन गर्न शुरु गरेका छन् । दाङको घोराहीस्थित महिला स्वरोजगार तालिम केन्द्रका महिला उद्यमीहरुले बजारको आवश्यकता अनुसार मास्क उत्पादन शुरु गरेका हुन् ।
‘अहिले बजारमा सामान्य मास्क पनि पाउन गाह्रो छ’ तालिम केन्द्रकी प्रशिक्षक दीपा बस्नेतले भनिन्, ‘बजारको माग अनुसार मास्क उत्पादन शुरु गरेका हौं ।’ उनका अनुसार तालिम केन्द्रका महिला उद्यमीहरुले बनाएका ५० हजार मास्क बजारमा आइसकेका छन् ।
महिला सामुदायिक लघुवित्त संस्था लिमिटेडको उद्यम विकास कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग तथा लैगिङ्क पुर्नस्थापना केन्द्रको प्राविधिक सहयोगमा मास्क उत्पादन शुरु गरिएको हो ।
करीव दुई सातादेखि मास्क उत्पादन शुरु गरेको उक्त तालिम केन्द्रले अहिले दैनिक ३ हजार मास्क उत्पादन गर्दै आएको छ । केन्द्रले उत्पादन गरेका मास्क जिल्लाका विभिन्न अस्पताल तथा पसलहरुमा विक्री वितरण हुँदै आएको छ ।
महिला स्वरोजगार तालिम केन्द्रमा ५ जना प्रशिक्षकसहित २५ जना कर्मचारीले मास्क उत्पादन गरिरहेका छन् ।











