इन्द्रेणी संवाददाता
दाङ, ७ चैत । नागरिक समाज दाङको आज वसेको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढीरहेको तर्फ विशेष ध्यान दिँदै यसमा पूर्व सर्तकता एवं पर्याप्त सचेतता अपनाउन सबै नागरिक, स्वास्थ्य संस्था, सरकारसहित सरोकारवाला सबैलाई आग्रह गरेको छ । साथै कोरोना भाइरसको पहिचान तथा उपचारका लागि स्वास्थ्य संस्थाहरुमा आइसोलेसन कक्षलगायतका सेवाको यथाशीघ्र व्यवस्था गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार समक्ष आग्रह गर्ने निर्णय गरेको छ ।
संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा वसेको बैठकले कोरोना भाइरसको कारण देखाएर बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको कृत्रिम अभाग तथा मूल्यवृद्धि भैरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यसको अनुगमन गरी नियन्त्रण गर्न स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै दाङ जिल्लास्थित सार्वजनिक प्रयोजनमा उपयोग हुँदै आएका सरकारी तथा स्वायत्त संघसंस्थाको नाममा दर्ता श्रेस्ता भएका जग्गा र अन्य सरकारी सार्वजनिक जग्गा भाडामा दिने, व्यापारिक प्रकृतिका भवन निर्माण गर्ने जस्ता कार्यहरु जिल्ला समन्वय समिति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रहरी बोर्डिङ्ग, घोराही उपमहानगरपालिका, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतका सरकारी निकायहरुबाट हुँदै आएकोमा नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।











