काठमाडौं, १३ पुस । गत बिहीबार पूर्वसचिव शान्तबहादुर श्रेष्ठको आकस्मिक निधन भयो । भाइरस र ब्याक्टेरिया संक्रमण शरीरमा फैलिएर निमोनिया हुँदा उनको निधन भयो । ज्वरो आएपछि श्रेष्ठलाई शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो । चिसोकै कारण उनको शरीरभर निमोनियाले गम्भीर असर पुर्‍याइसकेको थियो ।

nimoकेही दिनयता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ । चिसोकै कारण रुघाखोकी र निमोनियाका बिरामी बढ्नुका साथै दीर्घरोगीहरूमा गम्भीर समस्या देखिन थालेको छ । ‘फ्लु’ (इन्फ्लुएन्जा) ले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्छ ।

चिकित्सकका अनुसार जाडोयाम र मौसम परिवर्तनको अघिपछि मौसमी रुघाखोकीसहित ज्वरो (सिजनल इन्फ्लुएन्जा) का बिरामी बढ्छन् । रुघाखोकीले वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, अंग प्रत्यारोपण गराएका, गर्भवतीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू जोखिममा पर्छन् । सरुवारोग अस्पताल टेकुमा कार्यरत डा। शेरबहादुर पुन भन्छन्, ‘मौसमी इन्फ्लुएन्जा सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । तर, केहीमा जटिलता देखापरी बिरामीको मृत्युसमेत हुने गर्छ ।’

उनका अनुसार इन्फ्लुएन्जाविरुद्धको खोप हरेक वर्ष रोग प्रतिरोधात्मक क्षमता कम भएका ६ महिनाभन्दा बढी उमेर समूहका जो कसैले पनि चिकित्सकको सल्लाहअनुसार लिन सक्छन् । तर, विशेष गरी ६० वर्ष उमेर पूरा भएकाले अनिवार्य रूपमा लिए राम्रो मानिन्छ । यसलाई सरकारले नियमित खोपको सूचीमा राखेको छैन । उनका अनुसार यो खोपले रुघाखोकीका कारण ज्येष्ठ नागरिकलाई मृत्युको मुखबाट जोगाउन र संक्रमण फैलन नदिन महत्वपूर्ण काम गर्छ । इन्फ्लुएन्जाविरुद्धको खोप एक हजार देखि १३ सय रुपैयाँमा लगाइन्छ ।

चार प्रकारका इन्फ्लुएन्जा
इन्फ्लुएन्जा ए, बी, सी र डी गरी चार प्रकारका हुन्छन् । इन्फ्लुएन्जा डी जनावरमा मात्रै पाइन्छ । इन्फ्लुएन्जा सीलाई सामान्य रूपमा लिइन्छ । तर, ए र बी ले कडा खालको रुघाखोकी, ज्वरो निम्त्याउँछ । डा। पुनका अनुसार ए को छुट्टै दुई प्रजाति हुन्छ । पहिलो एचवानएनवान पिडिएम ०९, यसलाई सर्वसाधारणले चिन्ने भाषामा स्वाइनफ्लु भन्ने गरिन्छ । अर्को एचथ्रीएनटूलाई हङकङ फ्लुले चिनिन्छ । बीको पनि भिक्टोरिया र यामागाता भन्ने दुई प्रकारका जिन हुन्छन् । नयाँ पत्रिकाबाट