उदय बीसी
दाङ, १० पुस । दाङमा करीव रू. २० करोड लगानीमा निर्माणाधिन वायोग्यास प्लान्टको हालसम्म ६० प्रतिशत काम सकिएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले प्लान्ट निर्माण गरिरहेको छ ।
घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइटको करीव तीन विगाहा क्षेत्रफलमा वायोग्यास प्लान्ट निर्माण भइरहेको छ । गएको भदौ महीनाबाट भौतिक पूर्वाधार निर्माणको काम शुरु भएको र हालसम्म करीव ६० प्रतिशत काम सम्पन्न भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्रोजेक्टर मेनेजर हरिशरण श्रेष्ठले बताए ।
केही ढिला गरी काम शुरु भएपनि हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ’, उनले भने, ‘अबको तीन महीनाभित्र प्लान्टको काम सम्पन्न गर्ने लक्ष्य छ ।’
उपमहानगरपालिका क्षेत्रबाट निस्कने फोहरबाट वायोग्यास उत्पादन गर्ने गरी गत मंसिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
सम्झौता भएको झण्डै सात महीना पछिबाट शुरु गरिएको प्लान्टको काम हालसम्म करीब ६० प्रतिशत सम्पन्न भएको र आगामी असारमा ग्यास उत्पादन गर्ने लक्ष्यका साथ भइरहेको मेनेजर श्रेष्ठले बताए ।
सम्झौता अनुसार २० वर्षसम्म कम्पनीले आफै ग्यास उत्पादन गरेर विक्री गर्ने छ भने कारोबारको ५ प्रतिशत घोराही उपमहानगरपालिकाले पाउनेछ । त्यसपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
घोराही उपमहानगरपालिकामा दैनिक २३ देखि २४ मेट्रिक टन फोहर उत्पादन हुन्छ । जसमध्ये ७० प्रतिशत गल्ने प्रकृतिको फोहोर उत्पादन हुने गरेको छ । ग्यास प्लान्ट निर्माणपछि घोराही १६ मा रहेको सेनेटरी ल्यण्डफिल्ड साइटको आयुसमेत बढ्ने घोराही उपमहानगरपालिका फोहोर व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले बताए ।
‘पहिलो कुरा त ग्यास प्लान्ट निर्माण भएपछि हाम्रो फोहोर मोहरमा परिणत हुनेछ’, उनले भने, ‘यसले फोहोर व्यवस्थापनमा सहज बनाउनका साथै ल्याण्डफिल्ड साइटको आयु पनि वृद्धि हुन्छ ।’











