सल्यान, ८ पुस । कपुरकोटका सामुदायीक विद्यालयहरुमा अनुगमनलाई कडाई गरिने भएको छ । कोर्ष पुरा नभएको, विद्यालय क्षेत्रमा फोहोर बढेको तथा व्यवस्थापनको पक्ष कमजोर भएको गुनासो बढेपछि अनुगमनलाई गाउँपालिकाले कडाई गर्ने भएको हो ।

IMG_0134मंगलबार पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत साझेदारी मञ्चको बैठकमा विद्यालयका समस्या पहिचान गरेर समाधान गर्दै लैजाने र अनुगमनलाई प्रभावकारि बनाउने निर्णय भएको परियोजनाका जिल्ला संयोजक दिपेन्द्र शाहीले बताए ।

उनका अनुसार बैठकमा उपस्थित अभिभावकहरुले कतीपय सामुदायीक विद्यालयमा शिक्षकहरु नियमित नहुदा कोर्ष पुरा नभएको, विद्यालयका सौचालय निकै फोहोर भएको, जडान गरिएको ईन्टरनेटको दुरुपयोग भएको जस्ता गुनासो गरेका थिए । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले वडा अध्यक्षहरु, विषयगत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदै पालिकाभित्र हुने हरेक गतीविधिहरुको निगरानी र अनुगमन गर्न आग्रह गरेका थिए ।

खासगरी अभिभावक र विद्यालय व्यवस्थापन समितीबाट विद्यालयको अनुगमन र शैक्षिक गुणस्तर वृद्धिमा पहल हुनुपर्ने बताउँदै सेनले जिम्मेवारि पुरा नगर्ने प्रधानाध्यापक तथा शिक्षकहरुलाई कारवाहि गरिने चेतावनी दिए । अध्यक्ष सेनले हरेक वडाका जनप्रतिनिधीहरुलाई जिम्मेवारि बाँडफाड गरिदिएर शिक्षा, कृषि, स्वास्थ्य लगाएतका क्षेत्रको अनुगमन गर्ने व्यवस्था तत्काल मिलाउन वडा अध्यक्षहरुलाइ निर्देशन गरे ।