दाङ, ४ पुस । दाङको लमहीदेखि घोराही हुँदै तुलसीपुर सडक खण्ड चार लेन बनाउने काम शुरू भएको छ । पहिलो चरणअन्तर्गत घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोक र नारायणपुरको झारबैरादेखि दुधराससम्म र तुलसीपुर क्षेत्रमा बेलझुण्डीदेख हात्तीखौवासम्म काम शुरु भएको हो ।
सडक योजनाका इन्जिनीयर पारसमणि हमालले ढिलै भए पनि काम शुरू भएको बताए । उनले भने, ‘अब काम द्रुत गतिमा हुन्छ ।’ सडकलाई चार लेन बनाउने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजना कार्यालयबीच २०७५ पुस १३ गतेदेखि काम शुरू गर्ने सम्झौता भएको थियो ।
तर, सम्झौताको करीब १ वर्षपछि काम शुरू भएको छ । निर्माण कम्पनीले सम्झौताको मितिले ३० महीनाभित्र लमही–घोराही हुँदै तुलसीपुरसम्मको करीब ४९ किलोमिटर सडकलाई विस्तार गरिसक्नुपर्नेछ । निर्माण कम्पनीले रू। १ करोड २१ लाख ८२ हजारमा सडक विस्तारको जिम्मा लिएको छ ।
आवश्यक कच्चापदार्थको परीक्षणमा ढिलाइ हुँदा सम्झौताभन्दा ढिला काम शुरू भएको आयोजनाले बताएको छ । सो सडकखण्ड अन्तर्गत पर्ने घोराही बजार क्षेत्रमा भने दुई लेन मात्रै सडक हुनेछ । सो बजार क्षेत्रमा सडकबीचको डिभाइडरबाट दायाँबायाँ १५÷१५ मिटर फराकिलो भइसकेकाले सो क्षेत्रमा दुई लेन मात्रै बन्नेछ ।











